• शिक्षा क्षेत्रका समस्या हल गरिन्छः मन्त्री पौडेल

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताएका हुन् ।

    “शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उनले भने, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”

    मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए । कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उनले जानकारी दिए ।

    “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।

    मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए । उनले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय