• प्रचण्डले किन गरे जसपासँग पार्टी एकताको प्रस्ताव ?

  • काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जोखिम लिने नेताका रुपमा चिनिन्छन्। यही जोखिम लिने क्रममा उनले नेतृत्व गरेको पार्टी कैयौंपटक फुट्यो र जुट्यो।

    पछिल्लो पटक नेकपा (एमाले)सँग गरिएको एकता पनि टुटेपछि प्रचण्ड अहिले छिन्नभिन्न भइसकेको आफ्नै पार्टीलाई पुनर्जीवन गर्न भन्दै देशदौडाहामा छन्।

    त्यहीक्रममा प्रचण्डले शनिबार सत्ता गठबन्धनको एक घटक, जनता समाजवादी पार्टी (जसपा)सँग एकताको प्रस्ताव अघि सारेका छन्।

    प्रदेश २ को सर्लाहीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। 

    त्यस कार्यक्रममा प्रचण्डसँगै जसपा नेता महेन्द्र राय यादव पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले एकताको प्रस्ताव गरिहाले। उनले भने,’महेन्द्रजीलाई पनि म भन्छु, पार्टी एकता गरौं। किन क्षेत्रीय पार्टी बनाएर बस्ने?’

    जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको सम्बन्धबारे पनि चर्चा गर्दै प्रचण्डले गठबन्धन आफूहरुले अहिले पनि गरेको र अब पार्टी एकता गर्न ढिलो गर्न नहुने बताए। 

    पछिल्लो समय माओवादीको जनाधार अन्यत्रको तुलनामा प्रदेश २ मा राम्रो मानिन्छ। र, जसपासँग एकताको प्रस्ताव गर्नुको कारण पनि उनी आफैले खुलाए। प्रचण्डले मधेश माओवादीमय हुँदा मधेशी जनताको वास्तविक अधिकार प्राप्त हुने र विकास पनि हुने दाबी गरे।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय