• ‘विप्लव नेकपासगँ निरन्तर छलफल भइरहेको छ’

  • काठमाडाैं। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन्।

    गृह मन्त्रालयमा पत्रकारमाझ उनले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गरेको बताए ।

    विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिएका छन्।

    गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताए ।

    चन्द समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

    महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उनीहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेको बताउँदै गृहमन्त्री खाँणले भने, ‘वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गराैं भन्ने भएको छ ।’

    उनले भने, ‘एउटै व्यक्तिलाई छ/सातवटा समेत मुद्दा लागेको छ, बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौं । सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पारे ।

    गृहमन्त्री खाँणले भने, ‘सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौं भन्ने हाम्रो प्रयत्न छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय