• संघीय निजामती ऐन अगाडि बढ्छ : मन्त्री पौडेल

  • काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसदमा रोकिएको संघीय निजामती ऐन अगाडि बढ्ने बताएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उनले ठूलो मेहनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताए ।

    सो ऐन अघि बढाउन मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनःगठित र पुनःजीवित गर्ने संकल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गरे ।

    उनले भने, ‘अन्य पार्टीभित्र नेतृत्वको झगडा भए पनि हामीमा त्यस्तो छैन, अध्यक्ष प्रचण्डको नेतृत्वमा नै देशको प्रमुख पार्टी बनाउने संकल्प गरेर अघि बढेका छौं, विसं २०६४ कै अवस्थामा पार्टीलाई पुर्‍याउँछौँ ।’

    माओवादीको आगामी राष्ट्रिय सम्मेलनपछि देश निर्माणको वैचारिक नीति, दार्शनिक दृष्टिकोण र सशक्त नेतृत्व निर्माण गरेर अगुवाइ गरिने जनाउँदै पौडेलले सम्मेलनसम्म पार्टी पुनःगठनको प्रारम्भिक प्रक्रिया चल्ने बताए ।

    अहिलेको संयुक्त सरकारसमेत पार्टी निर्माणमा सहयोगी भूमिकामा रहने उल्लेख गर्दै उनले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मसँगै लिएर जाने योजना रहेको स्पष्ट पारे ।

    माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय