• देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्रीमा झर्‍यो

  • काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन् । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

    हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय