• नेकपा एमाले १०औं महाधिवेशनः नेतृत्व चयन मात्रै

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन ।

    हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

    ‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

    महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्ताबेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रित हुने अधिकारीले बताए । यद्यपि अध्यक्षको तर्फबाट एउटा सानो आकारको राजनीतिक प्रतिवेदन आउन सक्ने उनले बताए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय