• अफगानिस्तानमा अलपत्र ३२ नेपाली आज बिहान काठमाडौं आइपुग्ने

  • काठमाडाैँ । तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा अलपत्र परेकामध्ये उद्धार हुन बाँकी ३२ जना नेपाली आज काठमाडौं आइपुग्ने भएका छन्। 

    नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार बिहान नेपाली समय अनुसार पौने ११ बजे उनीहरुको उद्वार गरिएको छ। 

    ती नेपालीलाई महान एयरको जहाजबाट शुक्रबार बेलुका काबुलदेखि इरानको राजधानी तेहरान लगिएको छ। 

    यससँगै उद्धारका लागि निवेदन दिएका सबै नेपालीलाई काबुलबाट उद्धार गरी स्वदेश फर्काइएको छ। ती नेपाली तेहरानबाट दुबई हुँदै आज बिहान ९:४५ मा काठमाडौ आइपुग्ने छन्। नेपाल एयरलाइन्सको जहाजबाट २९ जना र फ्लाई दुबईको जहाजबाट तीनजना नेपाली आउने भएका हुन्। 

    गत अगस्ट १५ मा अफगानिस्तानमा तालिबानले सत्ता हत्याएसँगै उनीहरुसहित करिब एक हजार नेपाली अलपत्र परेका थिए। 

    ती नेपाली रोजगारीको खोजीमा अवैध माध्यमबाट अफगानिस्तान पुगेका थिए। ती नेपाली भिसाको म्याद सकिएका कारण स्वदेश फर्किनबाट रोकिएका थिए। 

    काबुलमा ८ स्थानमा छरिएर रहेका ती नेपालीलाई अफगानिस्तान समेत हेर्ने जिम्मा पाएको नेपाली दूतावास नयाँ दिल्लीको पहलमा एकै ठाउँमा भेला पारेर राखिएको थियो। 

    काबुलस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा सुरक्षाकर्मी आपूर्ति गर्ने आइडीजी नामक बेलायती संस्थाको संरक्षणमा उनीहरुलाई राखिएको थियो। 

    तालिबान सरकारले भिषा म्याद नाघेका ती नेपालीलाई स्वदेश फर्किन दिएको थिएन। उनीहरुको भिषा म्याद नाघेकाले तालिवानले जरिवाना पनि तिराएको छ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय