• पेट्रोल, डिजेल र ग्यासको मूल्य फेरि बढ्यो

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

    निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको बिक्री मूल्य ३ रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ भने डिजेल/मट्टितेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

    आन्तरिक तथा बाहृय हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

    एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँ वृद्धि गरी १ हजार ५ सय रुपैयाँ प्रतिसिलिण्डर कायम गरेको छ ।

    निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा इण्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।

    पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब २ अर्ब २२ करोड रूपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ ।

    ‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४६१.२२ घाटा रहेको निगमको दावी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय