• अब फेसबुक कम्पनीको नाम ‘मेटा’

  • काठमाडाैँ । फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो पहुँच व्यापक बनाउने भएकाले नयाँ नामले राम्रोसँग समेट्न सक्ने कम्पनीले बताएको छ । 

    यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता व्यक्तिगत प्लाटफर्महरूमा लागु हुने छैन, केवल तिनीहरूको स्वामित्व ग्रहण गर्ने ‘प्यारन्ट कम्पनी’ (मूल कम्पनी)मा मात्र लागु हुनेछ । 

    पूर्व कर्मचारीले चुहाएका दस्तावेजहरूका आधारमा फेसबुकका बारेमा श्रृङ्खलावद्ध रूपमा नकारात्मक खबरहरू आइरहेका बेला यो कदम चालेको हो । फेसबुकका पूर्व कर्मचारी फ्रान्सेस हौगेनले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

    सन् २०१५ मा गुगलले आफ्नो कम्पनीलाई पुनः संरचना गर्दै आफ्नो प्यारन्ट फर्मलाई अल्फाबेट भनेको थियो, यद्यपि, त्यो नाम समातेन । 

    फेसबुकका मालिक मार्क जुकरवर्कले नयाँ नामको घोषणा गरेका हुन् । उनले ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गरेका थिए । मेटाभर्स एक अनलाइन संसार हो जहाँ मानिसहरू भर्चुअल वातावरणमा प्राय भीआर हेडसेट्स प्रयोग गरी गेम खेल्न, काम गर्न र सञ्चार गर्न सक्छन् ।

    उनले विद्यमान ब्रान्डले भविष्यको त कुरौ छोडौँ अहिले नै आफूहरूले गरिरहेका सबै कुरालाई प्रतिनिधित्व गर्न नसकेको बताउँदै नाम परिवर्तन गर्न आवश्यक परेको बताए । भर्चुअल कम्फरेन्समा उनले समयसँगै मेटाभर्स कम्पनीको रूपमा देखा पर्ने आशा गरेको बताए । 

    कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । थम्व अप लाइक रहेको लोगो परिवर्तन गरी ‘ब्लु इन्फिनिटी सेप’ राखेको छ ।
     
    जुकरवर्कले कम्पनीको अन्य सेवाहरू प्रयोग गर्दा प्रयोगकर्ताहरूले फेसबुक प्रयोग गर्नु नपर्ने बताए । 

    ‘मेटा’ शब्द ग्रीक भाषाबाट आएको हो जसको अर्थ ‘बियोन्ड’ हुन्छ । 

    बाहिरी व्यक्तिका लागि मेटाभर्स भर्चुअल रियालिटी भीआरको संस्करण जस्तो देखिन सक्छ, तर केही मानिसहरूले यो इन्टरनेटको भविष्य हुन सक्ने विश्वास गर्छन् ।

    मेटाभर्समा कम्प्युटरमा रहनुको सट्टा मानिसहरूले भर्चुअल दुनियाँका सबै प्रकारको डिजिटल वातावरणमा प्रवेश गर्न हेडसेट्स सक्नेछन् । 

    साथीहरू र परिवारसँग सामाजिकीकरण गर्न काम, खेल र कन्र्सटहरू जुनसुकैबाट भर्चुअल दुनियाँलाई व्यवहारिक रूपमा नै प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ । फेसबुकले आगामी डिसेम्बरबाट नयाँ स्टक टिकर एमभीआरएस मातहतमा आफ्नो सेयरको व्यापार गर्ने योजना रहेको बताएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय