• सरकारले धानबालीमा क्षति भोगेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने

  • काठमाडौं । सरकारले दसैंलगत्तै परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले किसानलाई राहत दिने निर्णय गरेको हो । जसअनुसार १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय गरेको हो ।

    धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानलाई सरकारले राहत उपलब्ध गराउनेछ ।

    वर्षा, बाढी र डुवानका कारण भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने समेत सरकारले निर्णय गरेको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय