• बागमतीमा आज नयाँ सरकार गठन हुँदै, यी सांसद बन्दैछन् मन्त्री

  • काठमाडौँ – बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ ।  

    मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस स‌सदीय दलका उपनेता कृष्ण भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव निमा लामाले  जानकारी दिए । मन्त्रालय भागवण्डाको विषयमा भने छलफल जारी रहेको उनको भनाइ छ ।


    स्रोतका अनुसार कांग्रेसले भौतिक पूर्वाधार, माओवादीले आर्थिक मामिला र समाजवादीले सामाजिक विकास मन्त्रालय पाउँदैछ । अन्य मन्त्रालयमा को- को लाने भन्ने टुंगो भने मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिएपछि लाग्ने बताइएको छ । 

    बागमतीमा हाल आठ मन्त्रालय छ । गठबन्धन दलबीच भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । एक प्रदेश सभा सदस्यका अनुसार सबै दललाई भाग पुर्‍याउन मन्त्रालय फुटाउनुपनर्ने बाध्यता गठबन्धन सरकारलाई छ ।

    १३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच सहमति भइसकेको छ । बागमतीमा १०९ सांसद छन् ।

    एमालेका ४३, कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीका १३ सांसद छन् । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र एक स्वतन्त्र सांसद छन् । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेर एमालेबाट भदौ २ गते बुधबार मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आजको संसद्‌ बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गरेकी थिइन् । उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पनि स्वीकृत भइसकेको छ । 

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय