• टुकी बालेर राज्य पर्खंदै खल्लामुसेटी

  • काठमाडौं । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फेर्यो ।

    बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीको भारतीय परनिर्भरता हटेको थियो । यद्यपि, केही दिनअघिको बाढीले खल्लामुसेटीलाई फेरि उही सेवा र सुविधाविहीन अनकन्टार गाउँमा परिणत गरिदिएको छ । भीमदत्त नगरपालिका–९ को उत्तर चुरे फेदीको सुन्दर गाउँ यतिबेला टुकीको सहारामा छ ।

    यो बस्ती २०४२ सालमा बसेको हो । त्यसयताका कठिन दिनहरू सम्झनसमेत गाउँले चाहँदैनन् । त्यतिबेला सदरमुकाम महेन्द्रनगर आउजाउ सहज थिएन । टायरको ट्युबमा महाकाली तरेर किनमेल र रोजगारीका लागि भारतीय बजार टनकपुर र पिथौरागढ पुग्नु बाध्यता थियो ।

    स्थानीय गणेश रोकाया सम्झन्छन, “ती दिनहरू त कहाली लाग्दा थिए, सम्झन मन लाग्दैन । हाम्रो गाउँको विकासमा राज्यले विस्तारै ध्यान दिँदै गएको छ ।”

    स्थानीयवासी कालुसिंह खड्काका अनुसार, पछिल्लो पाँच वर्षयता मात्रै गाउँको विकासमा राज्यको ध्यान पुगेको हो । पाँच वर्षमा बाटो, बिजुली, खानेपानी र सञ्चार सुविधा पाएको उनको अनुभव छ । सदरमुकाम महेन्द्रनगर र नजिकको बजार ब्रह्मदेवसँग सजिलै पहुँच स्थापित भएको छ ।

    खड्का भन्छन, “यसपालिको कात्तिके बाढीले हामीलाई फेरि २० वर्ष पछाडि धकेल्यो ।”

    खल्लामुसेटीलाई महाकाली किनारको सडकले सदरमुकामसँग जोडेको थियो । यतिबेलाचाहिँ बाढीले पाँच किलोमिटर सडक बगाएको छ । बिजुलीको पोल ढलेका छन् । सञ्चार सुविधा अवरुद्ध छ ।

    स्थानीय धनबहादुर खड्का भन्छन, “हामी फेरि उही पुरानै अवस्थामा फर्किएका छौँ ।”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय