• कांग्रेस महाधिवेशनको मिति परिमार्जन, मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

    nepali congress flag
  • काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।

    पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

    नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ ।

    यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उनले बताए ।

    कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो ।

    पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको भने हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

    यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताए।

    सिफारिस