• सेनाको कब्जाबाट सुडानका प्रधानमन्त्री रिहा

  • एजेन्सी। सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई त्यहाँको सेनाले रिहा गरेको छ।

    अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ ।यद्यपि सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू भने सेनाको नियन्त्रणमा नै रहेका छन्।

    सैन्य कूपछि अमेरिका र ईयूले सु्डानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक सुरु हुनुभन्दा अगाडि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए।

    बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए ।

    लामो समयदेखि निरंकुश शासक ओमार अल–बशिरको सन् २०१९ अप्रिलमा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिक सरकारका प्रतिनिधिबीच तनाव चलिरहेको थियो।

    गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको थियो ।

    सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएका थिए । नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो ।

    सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन क्रममा सरकारी सुरक्षाकर्मीले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु हुनुको साथै १४० भन्दा बढी घाइते भएका थिए ।

    नागरिक अगुवा र सैनिक प्रतिनिधि सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको थियो ।

    तत्कालीन राष्ट्रपति बशिरको विरोधमा सङ्गठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको थियो ।

    तत्कालीन सरकारले मूल्यवृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो ।

    प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको सङ्क्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

    सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारसमेतलाई अहिले सेनाले अपदस्त गरेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय