• मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

  • बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

    नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

    बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई/दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय