• उपकरणसहितको दक्ष टोलीद्वारा बेपत्ता शेर्पाको खोजी कार्य सुरु

  • सोलुखुम्बु। मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शर्पाको अवस्था पत्ता लगाउन अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोलीले काम सुरु गरेको छ ।

    एभरेष्ट एयरको हेलिकोप्टरमार्फत सोमबार लुक्लाबाट मेरापिक क्षेत्रमा पुगेको उक्त तालिम प्राप्त टोलीले सोही दिनदेखि काम सुरु गरेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्षमण मिसन कार्कीले जानकारी दिए।

    तालिम प्राप्त टोलीले दुई दिनदेखि खोजीकार्य जारी राखे पनि उनको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ ।

    सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी ठेगाना भएका शेर्पा आरोहण दलका रुपमा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक गएका थिए। कात्तिक २ गते आरोहण सकेर फर्कने क्रममा पाँच हजार ८०० मिटर उचाइबाट उनी सम्पर्कविहीन बनेका थिए ।

    आरोहण सकेर फर्कने क्रममा बेपत्ता शेर्पासहित कात्तिक २ गते १० जनाको टोली हिउँमा फसेका थिए । जसमध्ये क्लाइबिङ शेर्पाको सहयोगमा नौ जनाको सकुशल उद्धार गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित त्यहाँ गएका शेर्पा बेपत्ता बन्नुमा कम्पनी र गाइडको कमजोरी रहेको जानकार बताउँछन् । कात्तिक अन्तिम साता नै मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै सचेत गराएको थियो ।

    मौसम प्रतिकूल हुने हुँदा उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा नजान सचेत गराउँदागराउँदै पिक चढ्न जानु गलत भएको मेरापिकका एक होटल व्यवसायीले बताए।

    शेर्पा इभेन्ट र खारेका माउण्टेन भ्यू होटलले जिम्मा लिएर त्यस क्षेत्रमा लगेको भए पनि कुनै पनि सुविधा उपलब्ध गराउन नसकेको आरोही दावा शेर्पाले बताए।

    दुई दिनसम्म हिमपातमा भोकै बस्नुपरेको गुनासो गर्दै उनले कुनै पनि सञ्चार सुविधा तथा औषधिसमेत नहुँदा त्यस बेला समस्या भएको बताए।

    आरोही छेतेन शेर्पा पनि गाइड र कम्पनीको लापर्बाहीको कारण नै बेपत्ता बनेको दाबी गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय