• एमालेका पालिकास्तरमा अधिवेशन मंगलबार

  • नेकपा (एमाले) ले मंगलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

    एकालेको दसौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो ।

    विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ ।

    अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए। यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ ।

    पार्टीको नयाँ विधानबमोजिम गाउँ/नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

    एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौं महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय