• यू–२३ एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

  • काठमाडाैं। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

    ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

    खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गर्दै अग्रता दिलाएका थिए ।

    त्यस्तै इरानका होसेनले खेलको ७७औं र ७९औं मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए ।

    यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ भने नेपाल अंकबिहीन छ ।

    नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

    समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय