• हिउँमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार

  • संखुवासभा। मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ ।

    मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

    विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए ।

    मकालु आधार शिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दीनेन्द्र कुलुङ राईलाई हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए।

    कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताए। विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताए।

    मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो । गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

    मृत्यु भएका विदेशी पर्यटकको शव उठेन

    विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन ।

    गत शुक्रबार मकालु–२ मकालु आधार शिविरमा एडर्शनको मृत्यु भएको थियो । मृतक एडर्शनको शव कानुनी प्रक्रिया सकेपछि मात्र उठ्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय