• सुडानमा सैनिक कु, प्रधानमन्त्री र मन्त्रीहरू सेनाको नियन्त्रणमा

  • एजेन्सी। सुडानको सेनाले सत्ता ‘कु’ गर्दै प्रधानमन्त्री अब्दुल्ला हम्डकसहित दर्जनौं नेताहरुलाई गिरफ्तार गरेको छ ।

    प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ ।

    सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ ।

    नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाबीच पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ ।

    त्यसैगरी राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् । सेनाको कदमको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरुलाई सेनाले गिरफ्तार गरेको छ ।

    देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गरेको छ ।
    प्रदर्शनकारीहरुले सेनाले सैन्य कु गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् ।

    तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ ।

    तत्कालीन सरकारले मूल्यवृद्धिका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो ।

    प्रधानमन्त्री अब्दुल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

    सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ ।

    संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ ।

    सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय