• ‘विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन पर्छ’

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।

    विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितकोसमेत सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए ।

    उनले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन/प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक हुने बताए । विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे

    उनले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र पुग्दैन, जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ । यसमा हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्दछ ।” उनले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय