• बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

  • मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला पुगेको छ ।

    मेरापिक आरोहण सकेर फर्कने क्रममा ६ दिनदेखि बेपत्ता भएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला पुगेको हो ।

    सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि गएका थिए ।

    कात्तिक २ गते मंगलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता भएका थिए । उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।

    एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौंबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् ।

    उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

    अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् । खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए ।

    बेपत्ता बनेका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनका साथमा एकजना भाइ छन्।

    भाइको समेत गत वर्ष मात्रै मिर्गाैला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ । छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ ।

    गाइडका साथमा गएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय