• प्रदेश १ : प्रदेशसभा बैठक सार्न सत्तारुढ र विपक्षी दलको माग

  • प्रदेश १ का सत्तारुढ र विपक्षी दलले आजको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने पूर्वनिर्धारित कार्यसूची छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बैठक सार्न सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वमा भ्रमणका क्रममा आउन लागेकाले आजको बैठक स्थगित गर्न उनले निवेदन दिएका हुन् । देउवा आज बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रदेश १ पुग्दैछन् ।

    त्यस्तै, सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि सभामुख भण्डारीलाई बैठक स्थगित गर्न निवेदन दिएका छन् ।

    कांग्रेसले आइतबार हुने बैठक स्थगन गर्न पत्र पेश गरेको भन्दै आफ्नो पार्टीको पनि महाधिवेशनअन्तर्गतका विभिन्न कार्यक्रम भएकाले आगामी बैठक कात्तिक १५ गते सञ्चालन गर्न अनुरोध गरेको हो ।

    ‘एमालेको दशौं महाधिवेशनअन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक र १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएको हुँदा १४ गते बाटो म्याद राखेर १५ गते प्रदेश सभा बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ,’ उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय