• सर्लाहीमा तीन जनाको मृत्यु

  • काठमाडाैँ । सर्लाहीमा शनिबार भएका छुट्टाछुट्टै तीन घटनामा परेर तीन जनाकै मृत्यु भएको छ। करेन्ट लागेर दुईजना र एकजनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका १५ स्थित सुकनाहामा मोटर चलाएर ट्युबेलबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा २८ वर्षीया महिलाको मृत्यु भएको छ।

    घटनामा सर्लाहीकै ब्रहम्पुरी गाउँपालिका ७ का उमेश साहकी २८ वर्षीया पत्नी पपिता देवी साहको मृत्यु भएको हो। 

    करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि नजिकैको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    त्यसैगरी करेन्ट लागेरै सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ मा पनि एक पुरुषको मृत्यु भएको छ। स्थानीय ४० वर्षिय सुरेन्द्र साहको घर नजिकैको बिजुलीको पोलमा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए। 

    विजुलीको पोलमा चढेर इन्टरनेटको तार जोड्ने क्रममा साहलाई करेन्ट लागेको हो। गम्भीर घाइते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा लगिएको थियो।

    अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    त्यसैगरी शनिबार राति सर्लाहीको बागमतीमा मोटरसाइकलले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। बागमती नगरपालिका ५ मा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार १४ वर्षीय प्रकाशबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

    किशोर बागमती ५ बाट बागमती नगरपालिका ८ स्थित आफ्नो घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    किशोरलाई ठक्कर दिएर मोटरसाइकल फरार भएकाले मोटरसाइकलको नम्बर र चालकको नाम खुलेको छैन। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय