• प्रदेक १ मा मुख्यमन्त्रीको विश्वास प्रस्तावमाथि मतदान हुँदै, राई मुख्यमन्त्री बन्दै

  • मोरङ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मतउपर आज मतदान हुने भएको छ । मुख्यमन्त्री आचार्यले पेश गरेको प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेश १ सरकारमा आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् । संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे मात्रै सदनलाई जानकारी दिएका थिए ।

    गत असोज २५ गते संवैधानिक प्रावधान अनुसार आचार्यले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूले आरोप लगाउँदै आएका छन ।

    प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै पुग्छ । यो संख्याले सरकार टिक्दैन । संसदमा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा लागेको छ ।

    विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद रहेका छन् ।

    केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय