• दक्षिण कोरियामा ७० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

  • एजेन्सी। दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

    दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।

    सरकारले महामारी फेरि फैलिन नदिन सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ ।

    कतिपय अवस्थामा ‘कोरोनासँगै जीउन सिकौँ’ भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् ।

    सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।

    दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको हो ।

    सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय