![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/Melamchi.jpeg)
पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौं उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन ।”
सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन । पुलबजार–अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो । वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ ।
हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उनले बताए । उनले भने, “त्यस माथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ ।”
उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन । गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उनले बताए । यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ । सूचना अधिकारी पन्तले भने, “अहिले भइरहेको सडकभन्दा नयाँ ट्याक खोल्नुपर्दा बढी समय लाग्नसक्छ ।”
समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन । पूरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ । खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो । जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उनले बताए । उनले भने, “चनौटेको रातो पुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।”
हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ । चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ । ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)