• वर्षाका कारण २० घर भत्किए, १०० उच्च जोखिममा

  • हुम्ला। आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् ।

    सर्केगाड गाउँपालिका–१ को जैरमा ६ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए।

    घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए।

    घर भत्किए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए। ६ घर भत्किँदा करिब आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए।

    सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ ।

    यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ । वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ ।

    यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिराको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिराको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिए।

    उनका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाले थालीगाउँका ५० घरधुरी पहिराको उच्च जोखिममा पर्नुका साथै उनीहरूलाई आफन्तको घरमा सारिएको छ । पहिराले खेतीयोग्य जमिनसमेत बगाइसकेको र घर पनि पहिराको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दामा सङ्कट सिर्जना भएको छ ।

    यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् ।

    लौठीगाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहे पनि अहिलेसम्म क्षति नगरे पनि उच्च जोखिममा रहेको स्थानीय जयराज सज्यालले जानकारी दिए। वर्षाले भौतिक संरचनादेखि अन्य बालीनालीसमेत क्षति गरेको उनले बताए ।

    यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिराको जोखिममा परेका छन् । गत वर्ष यस क्षेत्रका चार घर पहिरो परी पूर्णरूपमा क्षति भएको थियो ।

    पहिरो पीडितलाई सम्बन्धित निकायले कुनै सहयोग नगरेको स्थानीय लगबहादुर बुढाले बताए। अहिले पनि २० घर पहिराको जोखिममा रहेको उनले बताए।

    यसपटकको वर्षाले हुम्लामा कृषकले घर भित्र्याउन लागेको धानबाली, गहुँ, जौँमा क्षति पुगेको छ । पाकिसकेको बाली खेतमै रहेको र लगातरको वर्षाले कुहिएर खेर जाने भन्दै किसानले चिन्ता व्यक्त गर्न थालेका छन् ।

    वडा–२ को खलेसेरामा धानबाली, मकै, कोदोलगायत अन्य तरकारीजन्य खाद्यान्नसँगै जमिनसमेत बगाएको छ । यता अदानचुली वडा ३ मा रहेको हालै मात्र बनाएको महिला भवनसमेत भत्काएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय