• निरन्तरको वर्षाका कारण आठ वटा सडक अवरुद्ध

  • काठमाडाैं। केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ वटा सडक अवरुद्ध भएका छन् ।

    पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो ।

    पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्काेट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ ।

    डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ । सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ ।

    बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि मङ्गलबारदेखि नै अवरुद्ध छ ।

    कालीकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

    यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ ।

    कोसी राजमार्गअन्तर्गत धनुकटामा लेउती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ ।

    राप्ती राजमार्ग अन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो ।

    विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ ।

    वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ ।

    यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन् । वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन् ।

    आजसम्ममा १३४ आशिंकरूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय